बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

मंगलबार, माघ २० २०८२

काठमाडौँ । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) को वित्तीय पहुँच विस्तार र रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ।

वासिङटन डिसीस्थित विश्व बैंक प्रधानकार्यालयले जारी गरेको विज्ञप्तिअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनाले जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण र महिलाद्वारा सञ्चालित व्यवसायको लागि निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजिएफ) सुदृढ गर्ने कामसमेत गर्नेछ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनका अनुसार परियोजनाले वित्तीय पहुँच सहज बनाउने, कारोबारी अवरोध घटाउने, वित्तीय समावेशिता विस्तार गर्ने र एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्ने काममा सहयोग पुर्‍याउनेछ। साथै, निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा पनि योगदान पुग्ने बताइएको छ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व र आर्थिक वृद्धिका लागि गरिएका नीतिगत सुधार (डीपीसी) को निरन्तरता हो।