चितवन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च हुँदै गएको छ। माग बढेसँगै बजारमा अण्डाको मूल्य पनि क्रमशः वृद्धि हुन थालेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरेको हो।
सङ्घका अनुसार अब ठूलो अण्डाको फार्म मूल्य एक क्रेट (३० वटा)को रु चार सय ९५ पुगेको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट रु चार सय ६५ मा बिक्री हुँदै आएको थियो, जसअनुसार मूल्यमा रु ३० वृद्धि भएको हो। त्यसैगरी मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ, जुन यसअघि रु चार सय ४५ थियो।
यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेट रु पाँच सय ६५ र मझौला अण्डा रु पाँच सय ५० मा बिक्री भएको थियो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल बन्नु, सीमाक्षेत्रमा कडाइ हुनु तथा माग बढ्नुका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो।
उत्पादन गर्ने कुखुराको संख्या घट्दा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू पुनः सञ्चालनमा आउनुजस्ता कारणले पनि अण्डाको माग र मूल्यमा क्रमिक सुधार देखिन थालेको हो। हाल अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्ने गर्दछ, जसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु पाँच सय ७४ रुपैयाँ ६ पैसा पर्न आउँछ।
लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निराश बनेका थिए। तर पछिल्लो मूल्यवृद्धिसँगै अब पुनः राम्रो मूल्य पाउने आशामा किसानहरू आशावादी देखिएका छन्। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तोक्दै आएको जनाएको छ।