काठमाडौँ । नेपाली कांग्रेसभित्र एक पक्षले दोस्रो विशेष महाधिवेशन सञ्चालन गरिरहँदा आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि आह्वान गरिएको छ।
विशेष महाधिवेशन पक्षधरको बन्दसत्र आज बिहान ९ बजेदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ। पुस २७ र २८ गतेका लागि तय गरिएको दोस्रो विशेष महाधिवेशन समय अभावका कारण कार्यतालिका संशोधन गरी मंगलबारसम्म लम्ब्याइएको हो।
सोमबार बन्दसत्र सुरु भई विभिन्न प्रतिवेदनमाथिको छलफल लामो समय लिँदा कार्यतालिका संशोधन गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए। आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया निरन्तर रहनेछ भने हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने तयारी गरिएको छ।
आजको बन्दसत्रमा निर्वाचन समिति, अनुशासन समिति र केन्द्रीय समिति लगायतका विभिन्न समिति भङ्ग गर्ने कार्यसूची रहेको छ।
यसैबीच, नेपाली कांग्रेसले आज बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ। पार्टी कार्यालयमा हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताएका छन्।