मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

युवापन उमेरले होइन, चेतनाले मापन हुन्छ : अमित लामा

मंगलबार, पुष २२ २०८२

आजको समय युवाको हो। तर केवल उमेरले युवा हुनु पर्याप्त हुँदैन। सोच, चेतना, जिम्मेवारी र साहसले नै युवापनको अर्थ पूरा हुन्छ। यही अर्थमा हेर्दा नेपाली कम्युनिष्ट आन्दोलनमा युवालाई आशा, दिशा र आत्मविश्वास दिने एउटा सशक्त नाम हो-अमित लामा।

साधारण किसान परिवारमा जन्मिएर संघर्षका बीच हुर्किएका अमित लामाको जीवन स्वयं युवाका लागि पाठशाला हो। विसं २०४३ साल मंसिर ८ गते काभ्रे जिल्लाको रोशी गाउँपालिका–१, खहरेपागुमा जन्मिएका उनले बाल्यकालदेखि नै समाज, गाउँ र सामूहिक हितलाई आफ्नै भविष्यसँग जोडेर हेरे। सुविधाभन्दा जिम्मेवारी र अवसरभन्दा कर्तव्य रोज्ने उहाँको सोचले नै आजको स्थानसम्म ल्याएको हो।

युवावस्थामै विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाल्नु सामान्य कुरा होइन। तर अमित लामाले नेतृत्वलाई पद होइन, सेवा हो भन्ने सन्देश गाउँकै चेतना माध्यमिक विद्यालयबाटै दएि। शिक्षा सुधार, सामाजिक चेतना अभिवृद्धि र युवाको सहभागिता बढाउने उनका प्रयासले परिवर्तन ठूला भाषणबाट होइन, साना तर इमानदार कामबाट सुरु हुने कुरा स्पष्ट देखायो।

राजनीतिक यात्रामा पनि उनको बाटो सहज थिएन। गाउँ कमिटी संयोजकदेखि पालिकाको उपसंयोजक, क्षेत्रीय कमिटी सदस्य हुँदै जिल्लामा तीन कार्यकाल सदस्य र प्रदेश कमिटी सदस्यसम्मको जिम्मेवारी निरन्तर सम्हाल्नु भनेको केवल संगठनात्मक उचाइ होइन, निरन्तर संघर्ष र विश्वासको परीक्षा हो। उनले कहिल्यै पदलाई लक्ष्य बनाएनन्, जनताको भरोसालाई नै लक्ष्य बनाए। यही कारण जहाँ पुगे, त्यहाँ संगठन बलियो भयो र युवाको आत्मविश्वास थपियो।

अमित लामाको नेतृत्व सबैभन्दा प्रष्ट रूपमा युवा संघ नेपालमा देखिन्छ। विभागीय सदस्यदेखि केन्द्रीय सदस्य, कोषाध्यक्ष र लगातार तीन कार्यकाल उपाध्यक्षसम्म पुग्दा उनले एउटै कुरा दोहोर्‍याइरहे—“युवा केवल भीड होइन, परिवर्तनको शक्ति हो।” रोजगार, शिक्षा, समान अवसर र सामाजिक न्यायका विषयमा युवासँग निरन्तर संवाद गर्दै उनले हजारौँ युवालाई निष्क्रियताबाट सक्रियतामा रूपान्तरण गरे ।

नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशनबाट अत्यधिक मतसहित विजयी हुनु संयोग होइन। यो युवाले देखाएको भरोसा, संघर्षको मूल्यांकन र भविष्यप्रतिको आशाको संकेत हो। काभ्रे क्षेत्र नं १ बाट उम्मेदवारका रूपमा सिफारिस हुनु पनि युवाले खोजेको प्रतिनिधित्वतर्फको सकारात्मक सन्देश हो।

आज धेरै युवा निराश छन्-जागिर छैन, अवसर सीमित छन्, राजनीतिप्रति वितृष्णा बढ्दो छ। यस्तो अवस्थामा अमित लामाको यात्रा एउटा स्पष्ट सन्देश दिन्छ : परिवर्तन बाहिरबाट आउँदैन, हामी आफैँ परिवर्तन बन्नुपर्छ। इमानदारी, अनुशासन र निरन्तर प्रयासले समाज बदल्न सकिन्छ भन्ने कुरा उनको जीवनले प्रमाणित गरेको छ।

युवाका लागि नेतृत्व भनेको भाषण होइन, कर्म हो। सत्ता होइन, सेवा हो। सुविधा होइन, जिम्मेवारी हो। यही दर्शन बोकेर अघि बढ्नु भएका अमित लामा आजका युवाका लागि केवल नेता मात्र होइनन्—उनी प्रेरणा हुन्, भरोसा हुन् र सम्भावनाको उज्यालो संकेत हुन्।

आजको युवा पुस्ताले यदि आफ्नो भविष्य सुरक्षित गर्न चाहन्छ भने राजनीति र समाज परिवर्तनबाट भाग्नु हुँदैन। जिम्मेवारी लिनुपर्छ, प्रश्न गर्नुपर्छ र इमानदार नेतृत्वलाई साथ दिनुपर्छ। अमित लामाको संघर्ष र यात्राले यही बाटो सही हो भन्ने कुरा प्रमाणित गरिसकेको छ।