शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवन–१ बाट एमालेका सुरेन्द्र पाण्डे उम्मेदवार सिफारिसमा परेनन्

सोमबार, पुष २१ २०८२

चितवन  । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र चितवन–१ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्। चितवन–१ निर्वाचन क्षेत्र समन्वय कमिटीले पाण्डेको नाम सिफारिस नगरेको हो।

आइतबार बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले जिल्ला अध्यक्ष कमलराज पाठकसहित दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

चितवन–१ बाट २०७० र २०७४ सालमा दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका तथा पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेको नाम सिफारिसमा नपरेपछि पार्टीभित्र चासो र चर्चा बढेको छ।

पार्टीको ११औँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका पाण्डेले जिल्ला कमिटीबाट औपचारिक रूपमा उम्मेदवारीबारे सम्पर्क नभएको प्रतिक्रिया दिएका छन्। यद्यपि जगन्नाथ थपलिया, दावा दोर्जे लामा, प्रेम दवाडी र प्रभा बराललगायत केही नेताहरूले अनौपचारिक रूपमा सम्पर्क गरेको उनले बताए।

गत निर्वाचनमा पनि पाण्डेको टिकट अन्तिम समयमा मात्रै टुंगो लागेको थियो। उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए।