तेहरान । इरानमा बढ्दो महंगी, बेरोजगारी र कमजोर हुँदै गएको अर्थतन्त्रको विरोधमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीविरुद्ध विगत ९ दिनदेखि व्यापक प्रदर्शन भइरहेको छ। विरोध प्रदर्शन चर्किंदै जाँदा देशको समग्र अवस्था झनै अस्थिर बन्दै गएको बताइएको छ।
यसैबीच, अवस्था नियन्त्रणबाहिर गएमा खामेनीले देश छोड्ने आकस्मिक योजना बनाएको दाबी गरिएको छ। बेलायती पत्रिका द टाइम्स का अनुसार, यदि विरोध प्रदर्शन अझ तीव्र भयो र सुरक्षा बलले विद्रोह गरेमा खामेनीले तेहरान छोड्ने आपतकालीन योजना तयार पारेका छन्। उक्त योजनाअनुसार उनी आफ्ना करिब २० जना नजिकका सहयोगी तथा परिवारका सदस्यसहित इरान छोडेर रुसको राजधानी मस्को जान सक्ने उल्लेख गरिएको छ।
मिडिया रिपोर्टहरूका अनुसार, पछिल्ला इजरायली आक्रमणहरूले इरानको उच्च सुरक्षा संयन्त्रको शीर्ष नेतृत्वलाई गम्भीर क्षति पुर्याएको छ। यसले गर्दा देशभर फैलिएको जनआन्दोलन नियन्त्रण गर्न सरकारलाई थप चुनौती थपिएको बताइएको छ।
इरानको आन्तरिक राजनीतिक अवस्था थप जटिल बन्दै गएकाले आगामी दिनमा परिस्थितिले कुन मोड लिन्छ भन्ने चासो बढ्दै गएको छ।