काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डासहित बैठक आह्वान गरिएको हो। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
एक पदाधिकारीका अनुसार बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष तीन दलका नेतासँग गरेको हालैको छलफलका विषयमा अध्यक्ष ओलीले जानकारी गराउने कार्यसूची रहेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची भोलिसम्म बुझाउनुपर्ने अन्तिम मिति तोकेको छ।
जिल्ला तथा प्रदेशबाट समानुपातिकतर्फका आकांक्षीहरूको नाम संकलन गरी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेको बताइएको छ। बैठक र स्पष्ट मापदण्डबिनै सूची तयार गरिएको भन्दै पार्टीभित्र सचिवालय बैठक बोलाउन दबाब बढ्दै आएको थियो।