शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वप्रकाश शर्मा फागुन २१ मा प्रतिनिधिसभा उम्मेदवार नबन्ने

शुक्रबार, पुष ११ २०८२

 काठमाडाैं  ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको विहीबारको बैठकमा बोल्दै उहाँले यो निर्णय सार्वजनिक गरेका हुन्।

महामन्त्री शर्माका अनुसार यसबारे उनले पहिले नै आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा पार्टी कार्यकर्तालाई जानकारी गराइकेका थिए। ‘पुस ९ गते झापा पुगेको बेला क्षेत्रीय भेलामै को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेको थिएँ,’ उनले भने। गत वर्ष पुस २१ गते मेचीनगर–धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा पनि आफू उम्मेदवार नबन्ने कुरा स्पष्ट गरेको उनले स्मरण गराएका थिए ।

‘आगामी चुनावमा उम्मेदवार बन्न चाहने साथीहरू अहिल्यैदेखि गाउँ–गाउँमा मेहनत गर्नुस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन भनेर घोषणा गरेको थिएँ,’ उनले भने। फेरि पनि झापा–१ बाट सर्वसम्मत सिफारिस गरिएकोमा उनले क्षेत्रका नेताहरूलाई धन्यवाद दिए।

नेपाली राजनीतिमा देखिएको निरन्तर उम्मेदवार बन्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै महामन्त्री शर्माले भने, ‘जिते पनि हारे पनि क्षेत्र नछाड्ने, एउटामा हारे अर्कोमा उम्मेदवार बन्ने, बाँचुन्जेल क्षेत्र “कब्जा” गर्ने सोच—यो प्रवृत्ति भत्काउन जरुरी छ।’

तीन पटक प्रतिनिधिसभा उम्मेदवार भइसकेकाले यस पटक उम्मेदवार नहुने निर्णय गरेको उनले स्पष्ट पारे। ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा अभियानमा लाग्नेछु,’ उनले भने। साथै उनले चुनावमा नयाँ अनुहार लिएर जानुपर्ने आवश्यकता औँल्याए।

समानुपातिकतर्फको उम्मेदवारीबारे भने महामन्त्री शर्माले केही खुलासा गरेका छैनन् ।

महामन्त्री शर्माले २०७० को संविधानसभा निर्वाचनमा एमालेका रवीन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका राम कार्कीसँग पराजय व्यहोरेका थिए। २०७९ को निर्वाचनमा भने उनले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए ।