बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कुल वस्तु निर्यात ७७ प्रतिशतले बढ्यो

चार महिनामा ९३ अर्ब ५० करोडको रुपैंयाँको सामान निर्यात

सोमबार, मंसिर २९ २०८२

काठमाडौं । मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको चार महिना अर्थात कात्र्तिक मसान्तसम्ममा कुल वस्तु निर्यात ७७ दशमलव पाँच प्रतिशतले बढेर ९३ अर्ब ५० करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय १३ दशमलव नौं प्रतिशत र दुई दशमलव नौं प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६ दशमलव दुई प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा कुल वस्तु आयात १८ दशमलव सात प्रतिशतले वृद्धि भई छ खर्ब नौं अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात शुन्य दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः छ दशलव छ प्रतिशत, २८ दशमलव पाँच प्रतिशत र ४८ दशमलव नौं प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले वृद्धि भई पाँच खर्ब १५ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शुन्य दशमलव तीन प्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५४ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात.५७ अर्ब २४ करोड बराबरको भएको थियो ।