काठमाडौं । जेन–जी युनाईटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई बर्खास्त गर्न अर्थमन्त्री रामेश्वर खनालसँग माग गरेको छ। प्रतिनिधि टोलीले आइतबार सिंहदरबारमा अर्थमन्त्रीसँग भेटेर गभर्नरको योग्यता र विज्ञताको अभावको कारण बर्खास्त गर्नुपर्ने दाबी प्रस्तुत गरेको जेन–जी युनाईटेडका संयोजक जनक परियारले जानकारी दिए।
परियारका अनुसार डा पौडेलको शैक्षिक योग्यता, कार्यअनुभव र विषय विज्ञता राष्ट्र बैंक गभर्नर हुन पर्याप्त नभएको छ। उनले डा पौडेल राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएको दाबी पनि गरे। गभर्नर नियुक्तिको समयमा डा पौडेल राजनीतिक दलका सदस्य थिए, सानिमा बैंकका संस्थापक शेयरधनी थिए, र तत्कालीन सरकारले गभर्नर नियुक्तिका लागि गठन गरेको समितिको सदस्य पनि थिए। समितिबाट राजीनामा दिएपछि गभर्नर नियुक्त भएका डा पौडेलमाथि अख्तियारमा उजुरी परेको र सर्वोच्च अदालतमा मुद्दा रहेको पनि जनक परियारले उल्लेख गरे ।
राष्ट्र बैंक ऐन अनुसार राजनीतिक दलका सदस्यले गभर्नरको पद सम्हाल्न सक्दैनन्। साथै गभर्नरको योग्यता आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा वाणिज्य कानुनमा स्नात्तकोत्तर तहको हुनु अनिवार्य छ। तर डा। पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर र एग्रिकल्चर रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन्।
यसका साथै जेन–जी युनाईटेडले अर्थतन्त्र सुधारका लागि लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न, विचौलियको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाले अनधिकृत रूपमा लिएको व्याज ऋणीलाई फिर्ता गराउन, वैदेशिक ऋणको दुरुपयोग रोक्न, र राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन अर्थमन्त्रीसँग माग गरेको छ।