काठमाडौं । जय मातृभूमि पार्टीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रधामन्त्री शुशिला कार्कीसँग भेट वार्ता गर्दै निर्वाचन सम्बन्धमा पार्टीको आधिकारिक धारणा प्रस्तुत गरेको छ।
पार्टीका सह—अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा गएको पार्टी नेताहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाइृ मुलुकको वर्तमान अवस्था वारे ध्यानाकार्षण गराउँदै नव युवाहरुको विद्रोहबाट सिर्जित परिस्थितिको सम्वोधनको लागि यो सरकार स्थापना भएकाले आन्दोलनको मर्म र भावना अनुरुप सरकारको कार्यशैली हुनु पर्ने सुझाव दिएके छ । निर्वाचनको वातावरण बनाउन जय मातृभूमि पार्टी र जेन—जि आन्दोलनले उठाएका मागहरु अविलम्व सम्बोधन गर्ने दिशा तर्फ सरकारको ध्यान जावस भन्दै ६ सूत्रीय माग प्रस्तुत गरेको छ।
पार्टीका महासचिव गोविन्द गिरीले वाचन गरी प्रधानमन्त्रीलाई पेश गरिएको ज्ञापन पत्रमा भनिएको छ “पञ्चायतकाल, बहुदलीय व्यवस्था र गणतान्त्रिक शासनकाल समेतमा केवल शासकहरुको सुखसयलको निम्ति नै राज्यका साधनस्रोतहरु प्रयोग गरिए, नागरिक प्रति राज्य उदासीन भयो तथा देश सबै क्षेत्रबाट पराधीन बन्न पुग्यो।
परिणामस्वरुप देशको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, न्यायिक क्षेत्र तथा उत्पादन संस्कृति समेत प्रताडित भई नागरिकलाई आफ्नो देशमा बाँच्ने आशा मरेको अवस्थामा नवयुवाहरुको बिद्रोहबाट सिर्जित परिस्थितिको सम्वोधनको लागि यो सरकार स्थापना भएको हो।
नवयुवाहरुको स्वदेशमै स्वरोजगार बन्ने र आशा भरोसा जगाउने, देशमा सुव्यवस्था लागु गर्ने, उत्पादन सँस्कृति सवल बनाउँदै भोक, रोग निवारणको देश बनाउने अभियानमा यहाँको भूमिका गौरवशाली रहने हाम्रो अपेक्षा छ ।