काठमाडौं । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनःनिर्माण अवधीभरका लागि श्रमिकहरुको रोजगारीको विषय समाधानका लागि भनि एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटल हाल बन्द छ।
होटल पुनःनिर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी लागि सहमति गरेको जनाएको छ । “आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ । पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन,” होटल व्यवस्थापनले भनेको छ।
सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ। यसले कर्मचारीको रोजिरोटी तथा रोजगारीको सुरक्षा हुने होटलले जनाएको छ।
मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको बताइएको छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले स्पष्ट गरेको छ।