शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गगनको सभापति यात्रा

मंगलबार, मंसिर २३ २०८२

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने महामन्त्री गगनकुमार थापाको घोषणा निक्कै स्वागत योग्य रहेको छ। यो परिवर्तन र पुस्तान्तरणका निम्ति निक्कै आवश्यक मात्र होइन, जेनजी विद्रोहको माग मध्यको एक परिणामका रुपमा पनि लिन आवश्यक रहेको छ। नेपाली राजनीति अहिले गम्भीर मोडमा छ। पुराना दलहरूप्रति बढ्दो वितृष्णा र नयाँ वैकल्पिक शक्तिहरूको उदयले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीसामु अस्तित्व रक्षाको गम्भीर प्रश्न खडा गरेको छ। यो सङ्कटको घडीमा कांग्रेसलाई परम्परागत ढर्रा र यथास्थितिमा राख्ने होइन, आमूल रूपान्तरणसहित अघि बढाउने साहस र दृष्टि आवश्यक छ। वर्तमान परिदृश्यलाई विश्लेषण गर्दा, नेपाली कांग्रेसको अबको सभापतिमा महामन्त्री गगनकुमार थापाको विकल्प देखिँदैन।

गगन थापाको नेतृत्व किन आवश्यक छ भन्ने पहिलो कारण ’पुस्तान्तरण सहितको रूपान्तरण’ हो। शेरबहादुर देउवा लगायतको अग्रज पुस्ताले लोकतन्त्रका लागि गरेको योगदान अविष्मरणीय छ, तर एक्काइसौं शताब्दीको चेतना र युवा मनको आकाङ्क्षालाई सम्बोधन गर्न ’कोटा’ र ’गुट’ को पुरानो शैली अब पर्याप्त छैन। गगन थापाले केवल उमेरले मात्र होइन, एजेन्डा र कार्यशैलीले पनि नयाँपनको प्रतिनिधित्व गर्छन्। उनीसँग ’प्रोजेक्ट गभर्नमेन्ट’ र ’मिसन ८४’ मार्फत देश हाँक्ने स्पष्ट खाका, नीतिगत स्पष्टता र उर्जा छ।

दोस्रो, जनमतको आकर्षण र प्रतिस्पर्धा। गत निर्वाचन र उपनिर्वाचनहरूले स्पष्ट सन्देश दिएका छन् कि जनता डेलिभरी चाहन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा बालेन शाहजस्ता नयाँ शक्तिहरूले कांग्रेसको परम्परागत भोट बैंकमा धावा बोलिरहँदा, ती निराश युवा र तटस्थ मतदातालाई कांग्रेसमा फर्काउन सक्ने चुम्बकीय व्यक्तित्व गगन थापा नै हुन्। उनीसँग संसद्मा जनजीविकाका सवालमा खरो उत्रने क्षमता र कार्यकर्तामा उत्साह भर्ने कला छ। कांग्रेसलाई ’इतिहासको ब्याज खाने’ पार्टीबाट ’भविष्यको बाटो देखाउने’ आधुनिक लोकतान्त्रिक शक्ति बनाउन नेतृत्व परिवर्तन अनिवार्य छ। यदि कांग्रेसले १४औं महाधिवेशनपछिका गल्ती सच्याउँदै अब पनि नेतृत्व हस्तान्तरण गरेन भने, पार्टी इतिहासकै कमजोर विन्दुमा पुग्ने खतरा छ। तसर्थ, कांग्रेसको साख बचाउन, पार्टीलाई गतिशील बनाउन र देशलाई निकास दिन अबको सभापति गगन थापा हुनु व्यक्तिको चाहना मात्र नभई समयको माग हो।