काठमाडौं । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको हो । आर्थिक अनियमिताको आरोप लगाउँदै निलम्बनको माग गरेको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रेस्पोन्स टिमले लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग गर्ने पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने माग गरेको हुन् ।
टिमले पछिल्लो पटक ३ करोड ५६ लाख रुपैयांको दियो वत्तीको टेण्डरमा योजना प्रमुख भट्टले आर्थिक चलखेल गरी आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको आरोप पनि लगाएका छन् । लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांकमा अनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुंदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी समेत टिमका अध्यक्ष जमसेर खानले बताए । उनले योजना प्रमुख भट्टले कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको आरोप लगाउंदै यस्ता गतिविधि सह्य नभएको बताए । योजना प्रमुख भट्ट विभिन्न टेन्डर प्रक्रियामा प्रत्यक्ष सहभागी भएर पदको दुरुपयोग गरेको, राजनीतिक संरक्षणको आडमा मनपरी निर्णय लिएको र सार्वजनिक खरीद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतमा हात हाल्ने काम गरेको खानले आरोप लगाए । अध्यक्ष खानले भट्टलाई निलम्बन नगरे चरणवद्ध आन्दोलनमा जान वाध्य हुने बताए।
योजना प्रमुख भट्टले भने आफूले योजनाहरुको टेण्डरमा विगतमा हुंदै आएको कमिसनको चलखेल बन्द गराएपछि विकास कोषकै माथिल्लो तहका कर्मचारीले स्थानीयलाई उचालेर आफ्नो बद्नाम गराउन खोजेको बताइन् । उनले आफू कोषकै कामका लागि काजमा खटिएको दावी गर्दै यो वर्ष सुत्केरी समेत भएकाले धेरै दिन विदा बसेको बताइन् । भट्टले कोषकै कर्मचारी र स्थानीयको नाममा असुरक्षा महसुस गरेको समेत बताइन् ।
तीनघुम्ति फलोअपमा छ।