काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कर्मचारी सम्पर्कविहीन भएका छन् । अध्ययन बिदा लिएर गएर केहि कर्मचारी सम्पर्कविहीन भएका हुन्।
नार्कका अनुसार ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका हुन् । उनीहरुलाई हटाउने तयार भएको नार्कले जनाएको छ।
नार्कले कर्मचारी प्रशासन विनियम, २०४९ को सम्बन्धित प्रावधानअनुसार हाजिर हुन नआएका कर्मचारीलाई घरठेगानामा पत्राचार गर्दासमेत प्रतिक्रिया नआएको र तोकिएको समयसम्म उपस्थित नहुनुले उनीहरूको आचरण नोकरी टुट्ने कसुरमाथि पर्न जाने देखिएकाले २०८१ चैत ३१ गते बसेको ६६औँ बैठकको निर्णयअनुसार अध्ययन बिदामा गएको मितिदेखि नै सेवाबाट अलग गर्ने प्रक्रिया अघि बढाइएको नार्कद्धारा जारी सूचनामा उल्लेख छ ।
सूचनाअनुसार विभिन्न कार्यालयमा कार्यरत रहेका वैज्ञानिक तथा प्राविधिक तहका कर्मचारीहरू अच्युत मिश्र, नवीनकुमार दंगाल, होमन रेग्मी, सञ्जीव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी, दिनेश थापा मगर, डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ अध्ययन बिदाबाट नफर्की अनुपस्थित छन् । सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अन्तिम अवसर प्रदान गरिएको र उक्त समयसीमा नाघेपछि प्रचलित कानुनअनुसार सेवाबाट हटाएको मानिने पनि सूचनामा उल्लेख छ ।
