शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोक्ने अभ्यास हुदैन् : अध्यक्ष ओली

आइतबार, मंसिर १४ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनमा प्रतिस्पर्धात्मक प्रक्रिया अनिवार्य हुने स्पष्ट गरेका छन्।

एमाले महाधिवेशन प्रचार समितिद्वारा आइतबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा उनले उम्मेदवारहरूले प्रतिस्पर्धाबाटै अघि बढ्ने बताए ।

ओलीले ‘सर्वसम्मति’को नाममा भावनात्मक काम गरेर प्रतिस्पर्धा रोक्ने अभ्यास अब नहुने उल्लेख गर्दै भने, “सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन। रोक्ने–सोक्ने हुँदैन। प्रतिस्पर्धा हुन्छ।”

उनका अनुसार पार्टीभित्र लोकतन्त्र नटिकेको, चुनाव लड्न नदिएकोजस्ता आरोप उठ्ने वातावरण नबनियोस् भन्ने उद्देश्यले खुला प्रतिस्पर्धा आवश्यक छ। प्रतिस्पर्धा हुँदाहुँदै पनि एकअर्कालाई टिकाटिप्पणी, होच्याउने वा अपमान गर्ने कार्य नगर्न उनले आग्रह गरे ।

अध्यक्ष ओलीले आगामी महाधिवेशनमा पार्टी नीतिमा कुनै पनि छलफल नहुने पुन दोहोर्याए ।

भदौ २३–२४ पछि उत्पन्न परिस्थितिको वस्तुपरक समीक्षा आवश्यक भएको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले उठाएका आवाजबीच ओलीले पुनः नीतिगत चर्चा अब आवश्यक नरहेको बताए ।

उनले भने, “तीन महिनाअगाडि मात्रै विधान महाधिवेशन गरेर नीतिमा छलफल भइसकेको छ। हाम्रा सफलतादेखि कमजोरीसम्म सबै समीक्षा गरिसकेका छौँ। अहिले फेरि संगठनात्मक नीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता छैन।”

अध्यक्ष ओलीका अनुसार राजनीतिक प्रतिवेदनमा समेत तत्काल हेरफेर गर्नुपर्ने अवस्था छैन।