काठमाडौं । आइसिसी टी–२० टिम वरीयतामा नेपाल एक स्थान उक्लिँदै १७औँ स्थानमा पुगेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अक्टोबर १३ (सोमबार) अद्यावधिक गरेको नयाँ वरीयतामा नेपालले आफ्नो स्थान सुधार गरेको हो।
यसअघि १८औँ स्थानमा रहेको नेपालले हाल जारी आइसिसी टी–२० विश्वकप एसिया–पूर्वी एसिया क्षेत्र छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अविजित यात्रा कायम राखेको छ।
वरीयतामा सुधारको अर्को कारण नेपालले हालै सम्पन्न तीन खेलको टी–२० सिरिजमा वेष्ट इण्डिजलाई २–१ ले पराजित गर्नु पनि हो। यो सिरिज नेपालको पहिलो टेष्ट राष्ट्रविरुद्धको जित भएको ऐतिहासिक उपलब्धि हो।
हाल सुपर सिक्स चरणमा रहेको नेपालले लगातार दुई खेलमा जित दर्ता गरेको छ — १६औँ स्थानको युएई र २९औँ स्थानको कतारमाथि। अब नेपालले ६४औँ स्थानको सामोआ र २०औँ स्थानको ओमानसँग खेल्न बाँकी छ।