तेल अभिव । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागका रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ ।
सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलहरूबाट एक हजार ९६८ जना ‘आतंककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ।”
विज्ञप्तिअनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि र राजनीतिक स्वीकृति प्राप्त भएपछि ती सबै बन्दीहरूलाई वेस्ट बैंक, पूर्वी जेरुसेलम र केरेम शालोम क्षेत्र हुँदै रिहा गरिएको हो । केरेम शालोम गाजातर्फ प्रवेश गर्ने नाका हो ।
इजरायल–गाजा युद्धविराम सम्झौताअनुसार सोमबार नै प्यालेस्टिनी सशस्त्र समूह हमासलगायत अन्य समूहले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमणका क्रममा बन्धक बनाइ लगिएका बाँकी सबै जीवित बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मामा हस्तान्तरण गरेका थिए ।
सम्झौताअनुसार सबै जीवित र मृत बन्धक सोमबारभित्र फिर्ता गरिने भनिए पनि मृत वा बेपत्ता भनिएका २८ मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको शव मात्र इजरायलतर्फ पठाइएको एएफपीले जनाएको छ ।