भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीव्र प्रहार गर्दै उहाँको कार्यशैलीले देश शासित भइरहेको हो कि अपराधीको संरक्षण भइरहेको हो भन्ने भ्रम उत्पन्न भएको टिप्पणी गरेका छन् ।
भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको विशेष कार्यक्रममा पोखरेलले गृहमन्त्री अर्यालले प्रतिशोधको राजनीति गर्दै अपराधीको पक्षमा ढाल बनेर उभिएको आरोप लगाए ।
पोखरेलले प्रश्न गरे, “अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समूहको संरक्षण गर्दैछन्रु जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्ने, लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्ने व्यक्तिबाट देशको गृहमन्त्रालय कसरी सञ्चालन हुन्छरु शान्ति सुरक्षा कसरी कायम हुन्छ?”
उनले गृहमन्त्रीले प्रहरीको मनोबल बढाउने सट्टा गिराउने कार्य गरिरहेको आरोप पनि लगाए ।
त्यस क्रममा पोखरेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानविपरीत प्रधानमन्त्री बनेको दाबी गर्दै दलहरूबीचको सहमतिमा संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बनाइएको स्मरण गरे। “हामीले देशको परिस्थितिका कारण मौनता साध्यौँ, तर उहाँ प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोज्नुभयो,” उनको भनाइ थियो।
महासचिव पोखरेलले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन सम्पन्न गर्नु रहेको भन्दै, सुरक्षाको प्रत्याभूति, प्रहरीको मनोबल र लुटिएका हतियार फिर्ता बिना निष्पक्ष चुनाव सम्भव नहुने बताए । साथै उनले एमाले जनतामा जान कहिले पनि नडाउने र नडराएको बताए ।
उनले भने, “सरकारले दलहरूसँग संवाद र छलफल नगरी निर्वाचनको नाटक मञ्चन गर्न खोज्दैछ। असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै नाटक गरेका थिए, तर त्यो वैध ठहरिएन। अहिलेको सरकारको बाटो पनि त्यही दिशातर्फ जाँदैछ।”