काठमाडौँ । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएका सांसद मुनाजा हसनको नेतृत्वमा रहेको पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिए। उनले जलवायु परिवर्तन, दिगो विकास तथा पर्वतीय क्षेत्रका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले व्यापार, कनेक्टिभिटी र पर्यटन क्षेत्रमा दुई देशबीच संसदीय सहकार्य गर्न सकिने धारणा राखे ।
प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले सफलतापूर्वक सम्पन्न गरेको हिन्दूकुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ को प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा नेपालले खेलेको भूमिकाको सराहना गरे ।