आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चितवनमा चोरी गर्न बालबालिकाकाे प्रयोग बढ्दो

सोमबार, भाद्र २ २०८२

चितवन । पछिल्लो एक वर्षमा चितवनमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिका पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १० देखि १८ वर्ष उमेर समूहका ती बालबालिका आठ फरक–फरक मुद्दामा संलग्न रहेका थिए।

प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर तथा अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषध मुद्दामा २१, ज्यान मार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राइममा एक बालक पक्राउ परेका छन्।

एसपी पुरीका अनुसार पछिल्ला दिनमा विशेष गरी चोरी र लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग बढ्दो क्रममा छ। उनले भने, “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउने गरिएको छ।”

उनका अनुसार चोरीका घटनामा प्रायः तराईका बालबालिकालाई ल्याएर प्रयोग गर्ने गरिएको पाइएको छ। यसरी बालबालिकालाई प्रयोग गरी ठूलो लाभ उठाउने ठूला अपराधीलाई समेत प्रहरीले पक्राउ गरी कारबाही गरेको छ।

प्रहरीले सार्वजनिक कसूरदेखि लागुऔषध ओसारपसारसम्म बालबालिकाको संलग्नता बढ्नु चिन्ताजनक भएको बताउँदै अभिभावक, विद्यालय र समाजले बालबालिकाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।