झापा । १६ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भवती बनाएर फरार रहेका झापा, गौरादह–९ का ५० वर्षीय डिकबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका राईलाई शिवसताक्षी नगरपालिका–६ शिवगञ्जबाट इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले बुधबार नियन्त्रणमा लिएको हो। राई किशोरी गर्भवती भएको कुरा बाहिरिएपछि जेठ २८ गतेदेखि फरार थिए।
स्थानीयका अनुसार, पीडित किशोरी बुवाको निधनपछि आमासँग दिदीभिनाजुको घरमा बस्दै आएकी थिइन्। २०८१ माघमा घरमा कोही नभएको मौका पारेर राईले ती किशोरीलाई बलात्कार गरेका थिए। त्यसपछि पनि उनले मार्ने धम्की दिँदै पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन्।
अहिले ती किशोरीकाे सात महिनाकाे गर्भ छ। यो कुरा बाहिरिएपछि राईले घटना मिलाउने प्रयास गरेका थिए। किशोरी कथित तल्लो जातकी भएको बहाना बनाएर आफ्नो गल्ती स्वीकार नगरी उनी फरार भएका थिए।
जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। गोप्य सूचनाका आधारमा राईलाई पक्राउ गरिएको हो।
उनलाई बुधबार नै जिल्ला अदालत झापामा पेस गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।