मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

रोयल सासा नेपाल फर्मास्युटिकल्सले पायो ‘डब्लुएचओ जिएमपी’ प्रमाणपत्र

मंगलबार, साउन २७ २०८२

काठमाडौं । रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुशल उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र पाएको छ।

औषधि व्यवस्था विभागले रोयल सासालाई डब्लुएचओ जिएमपी र नेपालको औषधि उत्पादन कुशल अभ्यास संहिता प्रमाणीकरण गरेको हो। विभागको साउन २२ गतेको विभागीय निर्णय अनुसार रोयल सासाले डब्लुएचओ जिएमपी गाइडलाइन अनुसारको प्रमाणपत्र र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र पाएको छ।

उद्योगले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, क्रिम, जेल र पाउडरका लागि जिएमपी प्रमाणपत्र पाएको छ। विभागले डब्लुएचओ जिएमपीको दुई वर्ष र औषधि उत्पादन कुशन अभ्यास संहिता अनुसार तीन वर्षका लागि प्रमाणीकरण गरेको हो।

‘साउन २२ गतेको विभागीय निर्णय अनुसार त्यस उद्योगलाई डब्लुएचओ जिएमपी गाइडलाइन बमोजिमको प्रमाणीकरण निर्णय मितिले दुई वर्षका लागि तथा औषधि उत्पादन कुशन अभ्यास संहिता ९दोस्रो संशोधन० २०७२ बमोजिमको प्रमाणीकरण निर्णय मितिले तीन वर्षका लागि गरिएको व्यहोरा जानकारी गराइन्छ,’ विभागले रोयल सासालाई प्रमाणपत्रसहित उपलब्ध गराएको पत्रमा भनिएको छ।

जिएमपी प्रमाणपत्र पाएपछि खुसी व्यक्त गर्दै उद्योगका कार्यकारी निर्देशक अर्जुनप्रसाद पौडेल भन्छन्, ‘यो हाम्रा लागि निकै खुसीको कुरा हो। अब हामी उद्योगमा नयाँ प्रविधि भत्र्याउँदै थप गुणस्तरीय उत्पादनमा जोड दिँदै अगाडि बढ्ने छौं।’

उद्योगका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुणराज थापा ९रञ्जन०ले अन्तर्राष्ट्रियस्तरको थप नयाँ औषधि उत्पादन गर्दै बजारमा सशक्त तरिकाले अगाडि बढ्दै जाने जानकारी दिए।उनले रोयल सासाका सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण नै जिएमपी प्रमाणपत्र प्राप्त गर्न सफल भएको उल्लेख गर्दै कम्पनीका कर्मचारीसहित औषधि व्यवस्था विभाग र अन्य सहयोगीलाई समेत धन्यवाद दिएका छन्।

रोयल सासाको उद्योग चितवनको भरतपुर-१८ गुञ्जननगरमा रहेको छ। उद्योगले २०७८ साल असार १३ गतेदेखि औषधि उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ। हाल उद्योगबाट ५० भन्दा बढी प्रकारका औषधि उत्पादन भइरहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।