बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब निक्षेप तान्दै

आइतबार, साउन १८ २०८२

काठमाडौँ । वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दैछ। बोलकबोल प्रक्रियामार्फत निक्षेप तान्ने तयारी गरिएको छ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार, ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले आफैंले चाहेको ब्याजदर बोल्न पाउने र सबैभन्दा कम दर बोल्ने संस्थालाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने लगानीको गति सुस्त भइरहेकाले तरलता बजारमा थुप्रिएको देखिएको छ। मौद्रिक नीति लचिलो बने पनि सरकारी खर्च र वित्त नीति कार्यान्वयन प्रभावकारी नहुँदा लगानीको वातावरण बन्न सकेको छैन।

आज बोलकबोलमा सफल भएका संस्थाहरूसँग संकलित रकमको सावाँ तथा ब्याज २०८२ भदौ २९ गते भुक्तानी गरिनेछ। यो दीर्घकालीन प्रकृतिको संरचनात्मक खुला बजार कारोबार अन्तरगतको उपकरण हो, जसको अधिकतम अवधि ६ महिना राख्न सकिने व्यवस्था छ।

बोलकबोलका लागि न्यूनतम बोली रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोडको गुणनफलमा निःशेष बाँडफाँट हुने गरी निर्धारण गरिएको छ।

राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ। तर बजारमा लगानी विस्तार नभएको, सस्तो ब्याजदरको असर र सरकारी खर्च नगत रूपमा प्रवाह नहुँदा सिष्टममा थप नगद थुप्रिएको अवस्था देखिएको विश्लेषण छ।