आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रचण्ड र जनार्दनकाे अन्तरकलह बीच माओवादी स्थायी समिति बैठक बस्दै

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (बिहीबार)देखि सुरु हुँदैछ।  बैठक शुक्रबार दिउँसो १ बजेदेखि बस्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच बढ्दो अन्तरकलहका बीच बैठक बोलाइएको छ।

पार्टी नेतृत्वको कार्यशैली, नीतिगत अस्पष्टता र संगठनात्मक कमजोरीका विषयमा उपमहासचिव शर्माले हालै सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनले पार्टीको साख जोगाउन विशेष महाधिवेशन आवश्यक रहेको धारणा पनि सार्वजनिक गरिसकेका छन्। सोही सन्दर्भमा प्रचण्ड पक्ष र शर्मा पक्षबीच तीव्र मतभेद देखिएको छ।

शर्माले पार्टीको साख जोगाउन विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै शर्माले पार्टीप्रति जनविश्वास घट्दै गएको स्पष्ट देखिएकाले गम्भीर आत्मसमिक्षासहितको विशेष महाधिवेशन अपरिहार्य भएको उल्लेख गरेका हुन्।

उनले गत वर्ष देशभर सम्पन्न परामर्श बैठकको निष्कर्ष र केन्द्रीय समितिमा भएको बहसको आधारमा आगामी मंसिरभित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्। शर्माका अनुसार पार्टीभित्र नीतिगत स्पष्टता, संगठनात्मक सुधार र जनअपेक्षाअनुसारको मार्गचित्र तय गर्न विशेष महाधिवेशन जरुरी छ।

शर्माले पार्टीभित्र उठेका भ्रम, आलोचना र जनगुनासोलाई गम्भीरतापूर्वक सम्बोधन नगर्ने हो भने माओवादी आन्दोलनको मूल मर्म नै कमजोर हुने चेतावनीसमेत दिएका छन्।

गत वर्षको साउनमा बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले नेतृत्व हस्तान्तरण लगायतका १४ बुँदे प्रस्ताव पेस गरेका थिए। शर्माको प्रस्तावलाई पुसमा बसेको केन्द्रीय समितिले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। तर, कार्यान्वयन गर्न प्रचण्ड अनिच्छुक देखिएको भन्दै शर्माले असन्तुष्टि जनाएका छन्।

शर्माले विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यति बेला थप मलजल भइरहेको दाबी गरेका छन्।

विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता,नयाँ पुस्ताको भावना सम्बोधन गर्ने कार्ययोजना तयार पार्ने शर्माको भनाई छ।

आज सुरु हुने स्थायी समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, विशेष महाधिवेशनको सम्भावित एजेन्डा र आगामी रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

पार्टीभित्र बढ्दो असन्तोष, शक्ति सन्तुलनको प्रयास र नेतृत्वको जवाफदेहितासम्बन्धी विषयहरू बैठकमा प्रमुख बहसको केन्द्र हुने संकेत देखिएको छ।