आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव, कांग्रेसका चार मन्त्री पदमुक्त

शनिबार, साउन १० २०८२

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफूमाथि अविश्वास प्रस्ताव गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिदिएका छन् ।

मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्ने नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम चार जना मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका छन् ।

चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए । उनीहरू चारै जना नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुन्।

राजीनामा दिएसँगै मुख्यमन्त्री लामाविरुद्ध शुक्रबार नै चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेश सभापति तथा वरिष्ठ नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन् । देउवाले लामालाई स्पष्ट रूपमा राजीनामा दिन भनेपछि बानियाँ पक्ष थप सक्रिय भएको हो । तर लामा भने अझै पद नछोड्ने अडानमै छन् । यो सबैको जरो भने बजेट विवाद हो । आव २०८२—८३ को बजेटमा काँग्रेसभित्रै गम्भीर असहमति चुलिँदा सत्ता संकटको रूप लिएको हो ।

१३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामा ५ मतले बानियाँलाई हराएर नेता बनेका थिए। अहिले त्यही बानियाँ नेतृत्व परिवर्तनको मुहान बन्न लागेका छन् । काँग्रेसभित्रको यो शक्ति संघर्षले बागमती प्रदेशमा सरकारको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । अबको खेल लामाको राजीनामा वा विश्वासको मत गुम्ने प्रष्ट देखिन्छ ।