काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका साउन ४ का निर्णय सार्वजनिक गरेका छन् ।
सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रश्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
आईतवार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले चीन सरकारबाट बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न विनिमय पत्रमा हस्ताक्षर गर्न स्वीकृति समेत प्रदान गरेको छ ।
