काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको चाक्सीबारी भेलाको निष्कर्ष सुनाउन पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।
सोमबार (हिजो) पूर्वउपसभापति प्रकाशमान सिंहको घरमा छलफल गरेपछि आज उनीहरू देउवा निवास पुगेका हुन् । हिजो पूर्वउपसभापति सिंहको निवासमा संस्थापन पक्षका सात नेताहरू भेला भएका थिए।
ती मध्ये पाँच नेता आज देउवा निवास पुगेका थिए । हिजाे भेला भएका मध्ये विमलेन्द्र निधि र डा. शशांक कोइराला भने देउवासँगको छलफलमा सहभागी थिएनन् ।
उनीहरूले सरकार गठबन्धनको भावनाअनुसार चल्नुपर्ने, संविधान संशोधनमा कांग्रेसले अग्रसरता लिनुपर्ने, महाधिवेशनको तयारीलाई पार्टीलाई अगाडि बढाउनुपर्ने विषयमा देउवाको ध्यानाकर्षण गराउन पुगेका हुन् ।
हिजोको बैठकमा पार्टीको १५ औँ महाधिवेशन, इतर पक्षका नेता डा. शेखर कोइरालाको पछिल्ला गतिविधि, गठबन्धन निर्माण हुँदा एमालेसँग भएको सहमतिलगायतको विषयमा छलफल भएको थियो।