आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले केन्द्रीय कमिटीमा बाेल्न प्रत्येक सदस्यलाई ३ मिनेटको समय

सोमबार, साउन ५ २०८२

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुनेछ ।

पार्टी मुख्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ ।

गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुनेछ ।

बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेस भई छलफल हुने नेता गौतमले जानकारी दिए ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ ।

केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।