काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित एमाले मुख्यालयमा वान‑टु‑वान भेटवार्ता भएको छ।
उनीहरुबीचको वार्ता भण्डारीको पार्टी सदस्यता नवीकरणका विषयमा केन्द्रित थियो । भण्डारीको पार्टी सदस्यता “पेन्डिङ” रहेको एमालेले बताएको थियो । यता भण्डारी र उनी पक्षका नेताले भने दुई वर्ष अघि नै सदस्यता नवीकरण भइसकेको दाबी गर्दै आएका छन् ।
अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उनीहरूबीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिएको जानकारीबमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गरेको र यो सकारात्मक रहेको पत्रकारहरूलाई बताएका थिए । उनले पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको कुरा पार्टी महासचिवबाटै सार्वजनिक भइसकेको जिकिर गरेका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन उनीहरूबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
पार्टी सचिव योगेश भट्टराईले पार्टीभित्र यो कित्ता र त्यो कित्ताका हिसाबले गरिने व्यवहार उचित नहुने भन्दै बाहिर विवाद बढाउनुभन्दा पार्टी नेतृत्व र पूर्वराष्ट्रपतिबीच सौहार्द छलफलबाट विषयको टुङ्गो लाग्नुपर्नेमा जोड दिए।
केन्द्रीय कमिटी बैठकमा आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसहितका प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।