आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले पोलिटब्यूरो बैठक

पूर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय हुने ‘च्याप्टर क्लोज’

आइतबार, साउन ४ २०८२

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘पेण्डिङ’मा राख्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकमा एमाले राजनीतिमा सक्रिय हुने घोषणा गरेकी भण्डारीको विषयमा छलफल भएको थियो ।

शुक्रबार र शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामा रहेको भन्दै पार्टीले पछि निर्णय गर्ने जानकारी दिए ।

गौतमले भने, ‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौँ भन्नुभएको छ ।’

पोलिटब्यूरोले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुन नमिल्ने ठहरसहित नविकरण भइसकेको सदस्यतालाई रोकेको हो ।

एमालेको पोलिटब्यूरोमा अधिकांश नेताहरुले पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा फर्कन कानूनले नरोके पनि गणतन्त्रमाथि नै प्रश्न उठ्ने भन्दै रोक्न माग गरेका थिए । बहुमत नेताहरु सदस्यता नविकरण गर्न नमिल्ने लाइनमा उभिएपछि रोक्का राखिएको गौतमको भनाई छ ।

भण्डारीको सक्रियतासँगै एमालेमा तीव्र  ध्रुवीकरण देखिएको अवस्थामा छ । तर, यसैबेला बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई रोक्न विधान संशोधन समेत गरिएको छ । एमालेको आगामी भदौमा हुने विधान महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकले पारित गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले एमाले राजनीतिमा सक्रिय हुँदै पार्टीको आगामी नेतृत्व लिने घोषणा समेत गरिसकेकी छन् ।

यो निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय हुने विषयमा च्याप्टर क्लोज भएको छ ।

एमालेको विधानअनुसार, राजनीतिक पदमा स्वेच्छाले त्याग गरिएकाले भण्डारीलाई नयाँ सदस्यता लिनुपर्ने तर्क पुगेको छ । एमाले ओलीलगायत निकट नेताहरू यही आधार राख्दै रोक लगाउने पक्षमा थिए । प्रारम्भमा एमालेका अधिकांश नेताहरु भण्डारीको आगमन तीव्र रूपमा रोक्ने नीति अपनाउने संकेत गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किएको विषयमा एमाले र कांग्रेसमा पनि विरोध भएको थियो । कांग्रेसले भण्डारीको फिर्तीलाई सत्तापक्षीय चालको रूपमा व्याख्या गरेको छ। सभापति शेरबहादुर देउवासहितका नेताले प्रधानमन्त्री ओलीलाई नै सोधपुछ गरेका थिए भने, ओलीसँगको बैठकमा भण्डारीको राजनीतिक सक्रियता माथि प्रश्न उठाएका थिए ।