काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणको अन्यौल अन्त्य भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अब मिसन ८४ को लागि आवश्यक बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित् भएको दाबीसमेत गरे ।
पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढि नेतृत्वको प्रावधान हटाएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी आएको हो ।
पछिल्लो समय एमालेमा अध्यक्ष केपी शर्मा ओली र एमालेको सक्रिय राजनीतिमा पूनः फर्किएकी विद्यादेवी भण्डारीबीच ध्रुवीकरण चलेको छ । यस्तोमा महासचिव पोखरेलले अध्यक्ष ओली पक्षको अगुवाई गरेका छन् ।
यता, भण्डारी पक्षको अगुवाई भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका छन् । पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई सार्वजनिक रूपमै आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पोखरेलले सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल भएको उल्लेख गर्दै पोलिटब्युरो र केन्द्रीय समितिमा पनि परिमार्जन गर्नेगरी छलफल गर्न आग्रह गरेका हुन् ।
एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १० घण्टा चलेकाे थियाे ।
उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा पदाधिकारी र केन्द्रीय कमिटी घटाउने निर्णय गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतापछि बढेको एमालेमा चर्चामा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाउने निर्णय भइसकेको छ ।