काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अब विपक्षमा बस्ने निर्णय गरेको छ।
मधेसदेखि केन्द्रको सत्ता सहकार्यका लागि गरेको प्रयासमा सार्थक नतिजा आउने नदेखिएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिएको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारको हालसम्मको कार्यसम्पादनको समीक्षा गर्दै यो निर्णय गरेको हो।
जसपा नेपालले वर्तमान सरकारले विभिन्न क्षेत्रमा असफलता प्रदर्शन गरेको भन्दै आफ्नो समर्थनको औचित्य नरहेको ठहर गरेको छ। पार्टीले सरकारमाथि ११ वटा बुँदामा विभिन्न आरोपहरु पनि लगाएको छ ।
यी हुन् जसपाले लगाएका आरोप
१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
२. भ्रष्टाचार र अनियमितता : भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसकेको ।
३. आर्थिक असफलता : मुलुकको अर्थतन्त्र सुधार गर्न र आर्थिक विकासको गतिलाई अगाडि बढाउन नसकेको । साथै, आ.व. २०८२/८३ को बजेट असन्तुलित र पूर्वाग्रही ढङ्गले ल्याएको ।
४. संघीयता कार्यान्वयनमा निष्क्रियताः संघीयता कार्यान्वयनका लागि कुनै ठोस प्रयास नगरेको ।
५. गरिवी र वेरोजगारी ः कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरि गरिवी र वेरोजगारीजस्ता समस्याहरू समाधान गर्न नसकेको ।
६. सेवा प्रवाहमा कमजोरीः स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्रमा गुणात्मक सुधार गरि जनतामा प्रभावकारी सेवा प्रवाह गर्न नसकेको ।
७. सामाजिक न्यायको अभावः समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसङ्ख्यक लगायत उत्पीडित समुदायका राष्ट्रिय समस्याहरू समाधान गर्न नसकेको ।
८. राजबन्दी रिहाइमा उदासीनताः मधेश, थरुहट, किरात–लिम्बुवान लगायतका आन्दोलनका क्रममा झूटा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहा नगरेको ।
९. संविधान संशोधनमा पहलविहीनता ः संविधान संशोधनका लागि हालसम्म कुनै प्रयास नगरेको ।
१०. कृषक समस्यामा बेवास्ताः कृषि विकासका लागि किसानहरूलाई कृषि बजार, सिँचाइ, मलखाद, बीउबिजन र कीटनाशक औषधिका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसकेको ।
११. रोजगारी सृजनामा असफलताः बेरोजगारी समस्या समाधान गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसकेको ।