आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मन्त्रीमण्डल हेरफेरको तयारीमा प्रधानमन्त्री ओली

बुधबार, असार ३२ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डलमा हेरफेर गर्ने तयारीमा रहेका छन् । सरकारको नेतृत्वमा एक वर्ष पूरा गरेका प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेका हुन्।

एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टी भित्रको शक्ति सन्तुलन मिलाउने र सरकारको कार्यक्षमता सुधार्ने उद्देश्यले मन्त्रीहरू परिवर्तन गर्ने योजना बनाएको स्रोतहरूले जनाएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीको सेट नै परिवर्तन नहुने कार्य संपादनमा कमजोर देखिएका र विवादमा मुछिएका मन्त्री परिवर्तन गर्ने सोचमा ओली छन् । उनले यसबारे सत्तारुढ दलहरुसँग पनि छलफल चलाइसकेका छन् ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए पनि कार्यसम्पादन प्रभावकारी नभएपछि मन्त्री फेरबदलको कसरतमा ओली लागेका हुन् ।

सत्तारूढ एमालेका विभिन्न गुट तथा नेताहरूबीचको असन्तुलन, पछिल्ला केही मन्त्रालयहरूको प्रदर्शनमा देखिएको कमजोरी, र आगामी निर्वाचनको तयारीलाई ध्यानमा राखेर ओलीले केही मन्त्रीहरूलाई हटाउने र नयाँ अनुहारहरू ल्याउने तयारी गरिरहेका छन्।

एमालेका एक नेताका अनुसार, “प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिमण्डलमा आंशिक हेरफेर गर्नुहुने सम्भावना छ। कार्यसम्पादन राम्रो नगरेका केही मन्त्रीहरू फेर्ने सोचमा हुनुहुन्छ।”

लीले युवाहरूलाई अवसर दिनेसाथै पार्टीको आन्तरिक समीकरण सन्तुलनमा ल्याउने प्रयासस्वरूप नयाँ अनुहारहरूको खोजीसमेत गरिरहेका छन्।

यद्यपि, हेरफेरको अन्तिम रूप र समयबारे भने औपचारिक निर्णय भइसकेको छैन।

यसका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग समेत छलफल शुरू भइसकेको छ । साथै, सोमबार राति प्रधानमन्त्रीले कांग्रेस र जसपाका शीर्ष नेतासँग पनि छलफल गरेका छन् ।

को-को मन्त्रीको जिम्मेवारी हेरफेर हुने भन्नेबारे ओलीले केही खुलाएका छैनन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विवादित बनेका र एक वर्षसम्म प्रभावकारी कार्यसम्पादन गर्न नसकेका मन्त्री ‘रेडजोन’मा छन् ।

३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यभार तोकेका थिए ।