काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत सरकारको प्राथमिकता, उपलब्धि र भावी कार्यदिशाबारे धारणा सार्वजनिक गरेका छन्।
सोमबार बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिन थालेको उल्लेख गरेका छन्।
साथै, राष्ट्रिय गौरवका आयोजनाहरूको कामले गति लिएको तथा समयसीमा तोकेर काम गर्ने र नतिजामुखी अभ्यास सुरु भएको धारणा पनि उनले व्यक्त गरेका छन्। ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ, यस बिचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ, टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ’,ओलीले लेखेका छन् ।
यस बिचमा नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा धेरै काम भएका उनले उल्लेख गरेका छन्, ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन, अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ ।