काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । चवालिस करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्वपूर्ण विषयमा निःशुल्क ‘अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, उद्धव थापालगायत सहभागी थिए।