काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् ।
उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व भएको समेत स्पष्ट पारिन् ।
बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले आफूले सरकारी सेवा-सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन् । “व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ,” उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए।
जबाफमा उनले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुपर्यो नि!’
हालका अध्यक्ष केपी शर्मा ओलीबारे बोल्दै भण्डारीले दुई कार्यकाल अध्यक्ष भइसकेका उनी दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गरिन्। ‘मैले चिनेको केपी ओली त्यस्तो होइन,’ उनले भनिन्।
अब ओलीले नेतृत्व हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै उनले त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने अठोट व्यक्त गरिन्।