काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताएकी हुन् । उनले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताइन् ।
गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गरिन्। देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताइन्। बोल्दा हेक्का पुर्याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिइन् ।
‘सरकार प्रमुखले राष्ट्रको गौर बढाएर आउँदा किन छटपटी भयो ? तपाईंहरूको राष्ट्रप्रेम हामीले पटक-पटक देखिसकेका छौं, देखिरहेका छौं । यति धेरै छट्पटाहट किन भएको हो ? प्रश्नको जवाफ माग्न चाहन्छु र गल्ती नदोहोर्याउन चुनौती दिन्छु,’ बरालले भनिन् ।
गौतमले प्रधानमन्त्रीसँग गएका मानिस नफर्किएको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै एमाले सांसदले हिजो पनि संसद्मा आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्यको विवरण सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री ओली राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन असार १४ स्पेन गएर १९ गते स्वदेश फर्केका थिए ।