आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जलाउँदै गरेको शवसहितको चिता त्रिशूलीको बाढीले बगायो

मंगलबार, असार २४ २०८२

काठमाडौं । धादिङको बेनिघाट नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ ।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ ।

गाउँपालिकाले नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्पूर्ण पालिका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।