आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बाढीबाट बच्न र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

'सरकारले विपद् व्यवस्थापन विभागलाई 'हाई एलर्ट'मा राखेको छ'

मंगलबार, असार २४ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली नदीमा आएको बाढीबाट बच्न आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले जल तथा मौसम विज्ञान विभागको सूचनालाई गम्भीरतापूर्वक लिन र विपद् व्यवस्थापन तथा सुरक्षासम्बन्धी सम्पर्कमा रहन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीले “सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित राखौं” भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’ मा राखेको छ ।

सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरु आवश्यक साधन र उद्धार उपकरण सहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन्। विपद् संभावित क्षेत्रमा खटिएको सुरक्षा निकायको सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको उनले बताएका छन् ।

गएरातिको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ भने फसेकाहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।