काठमाडाैं । अक्सिजन जेनेरेसन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहितका प्रतिवादीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा थाहा नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त जम्मा रु. १ करोड ५५ लाख बजेटबाट अक्सिजन प्लान्ट खरिद गर्न प्रक्रिया थालेको थियो।
विशेष अदालतमा दायर आरोपपत्रमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, तत्कालीन लेखा अधिकृत हरिबहादुर खपाङ्गीमगर तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रालि तथा उक्त प्रालिका अध्यक्ष तथा प्रोप्राइटर सोबित प्रसाई लगायतले प्राविधिक मूल्याङ्कनमा ‘सेटिङ’ मिलाएर कम गुणस्तरको प्रविधि छनोट गराएको उल्लेख छ ।
खरिद मूल्याङ्कन समितिले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका इन्जिनियरमार्फत तयार गराइएको स्पेसिफिकेसन अनुसार “Desiccant Dryer Technology” अनिवार्य प्राविधिक मापदण्डको रूपमा तोकेको थियो।
तर बोलपत्र मूल्याङ्कन गर्दा उक्त प्रविधि प्रस्ताव नगरेका, अर्थात् “Refrigerated Air Dryer Technology” उल्लेख गरेका फर्महरूलाई समेत उत्तीर्ण गराइएको थियो। यसरी, मागभन्दा फरक प्रविधि र कम गुणस्तरको सामग्री प्रस्ताव गरेको सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. लाई रु. १,१०,०१,१९९।७५ मा ठेक्का दिइएको थियो। त्यही अनुसार उपकरण पनि नगरपालिकामा आपूर्ति भइसकेको र रु. १२ लाख अग्रिम भुक्तानी समेत दिइएको पाइएको छ।
बोलपत्र मूल्याङ्कनका क्रममा झुटा कागजात पेश गराई, स्वीकृत मापदण्डको उलङ्घन गरी, कम गुणस्तरको प्रविधि छनोट गरिएको भन्दै आयोगले दोषी सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको हो।
अख्तियारले यो कार्य योजनाबद्ध, मिलेमतोमा, बदनियतपूर्वक गरिएको ठहर गर्दै सार्वजनिक धनको दुरुपयोग प्रमाणित भएको जनाएको छ।