एडीबीबाट ऋण लिएर खानेपानी योजनाको काम अगाडि नबढाउने पत्र
काठमाडौं । धरानका मेयर हर्कराज राई (साम्पाङ) ले कतैबाट ऋण नदिइ श्रमदानबाट विकास गरेर देखाउन चुनौति दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन् ‘ऋण लिएर त लाटाले पनि बिकास गर्न जान्दछ। बिना ऋण श्रमदान गरेर बिकास गरेर देखा न अनि पत्याउँछु ! तेरिमा गफाडी ऋणाहा !’
यसैबीच धरान उपमहानगरपालिकाले विदेशी ऋण लिएर खानेपानी आयोजनाको काम अगाडि नबढाउने भएको छ । उपमहानगरपालिकाका मेयर राईले एसियाली विकास बैंक (एडीबी) बाट ऋण लिएर धरानमा खानेपानी योजनाको काम अगाडि नबढाउन जानकारी दिँदै खानेपानी मन्त्रालय र मन्त्रीलाई पत्र समेत लेखेका छन् ।
उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको जनाउँदै आर्थिक वर्ष २०८२-८३ मा सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको जनाएका छन् ।
‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडीवीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफै खोला खोल्सीको पानी जोडेर गुजारा गरौँला भनी जानकारी गराउँदछु ।’ पत्रमा भनिएकाे छ ।
