काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
बैठकमा आगामी कात्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि रुपन्देही–३ को उम्मेदवारबारे छलफल हुने बताइएको छ ।
बुधबार पनि रुपन्देहीका राप्रपा नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा उम्मेदवारबारे छलफल गरेका थिए ।
यसअघि रुपहेन्दी क्षेत्र नम्बर ३ बाट राप्रपाका नेता दीपक बोहराले जितेका थिए । तर, उनको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।
यहाँ नेकपा एमालेबाट खिमलाल भट्टराईको उम्मेदवारी लगभग पक्का भएको छ भने नेपाली कांग्रेसबाट बालकृष्ण खाणको चर्चा छ। भुटानी शरणार्थी प्रकरणमा मुद्दा चले पनि उम्मेदवार बन्न पाउने भएकाले उनी आवश्यक तयारीमा जुटिसकेको बताइन्छ । यद्यपि उम्मेदवारीबारे उनले खुलेर बताइसकेका छैनन् ।
यहाँ कांग्रेसबाट पूर्वसांसद प्रमोद यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकालको पनि चर्चा छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल र बुटवलका चिकित्सक डा योगेन्द्र अग्रहरीको नाम चर्चामा छ । यस्तै सागर ढकालको नाम पनि चर्चामा छ ।