काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीले अब काममा तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।
संवैधानिक नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चले खारेज गरेसँगै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् महासचिव पोखरेलले अन्योल अन्त्य भएको र अब ती निकायले काममा तीव्रता दिनुपर्ने धारणा राखेका हुन् ।
‘सम्वैधानिक आयोगमा भएको नियुक्ति उपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ। अब ती निकायको काममा तिव्रताको अपेक्षा गरौ।’ उनले लेखेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले साढे चार वर्षदेखि ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई बुधबार मध्यरातमा टुंग्याएको थियो ।
चार महिना लामो सुनुवाइ सकिएको करिव ५० दिनपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार मध्यराति ५२ संवैधानिक नियुक्तिलाई सदर गरेको हो ।