काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीको चौतर्फी आलोचना र छानबिनको माग उठिरहँदा राज्य व्यवस्था समितिको आकस्मिक बैठक बसिरहेको छ ।
बुधबार बसेको बैठकमा एमाले सांसद पदम गिरीले सभापति रामहरि खतिवडाको राजीनामा मागेका हुन् ।
गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन् । उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए । उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए ।
सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भएपनि सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएको उनले टिप्पणी गरे ।
‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ’, नेता गिरीले भने ।