काठमाडौं । हिजो स्कटल्यान्डको ग्लास्गो रंगशालामा नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा क्रिकेट खेल इतिहासकै एक अविस्मरणीय खेल हुन पुग्यो । नेपालले टस जितेर पहिले बलिङ रोज्यो र नेदरल्यान्ड्सलाई १५२ रनमा रोक्न सफल भयो ।
निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १५२ रन जोडेको थियो। जबाफमा नेपालले पनि ८ विकेट गुमाएर १५२ रन नै बनायो। खेल बराबरी भएपछि छिनोफानो गर्न सुपर ओभर भयो।
पहिलो सुपर ओभरमा नेपालले एक विकेटको क्षतिमा १९ रन बनायो। अनि नेदरल्यान्ड्सले पनि विना विकेटको क्षतिमा १९ रन नै बनायो। खेल फेरि बराबर भयाे ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १ विकेट गुमाएर १७ रन बनायो। नेपालले विना विकेटको क्षतिमा १७ रन नै बनायो। फेरि पनि खेल बराबर नै भयाे ।
तेस्रो सुपर ओभरमा चाहिँ नेपालले दुई विकेट गुमायो तर एक रन पनि जोड्न सकेन। नेदर्ल्यान्ड्सले सुरुकै बलमा छक्का हानेर खेल जित्यो।
यस्तो नतिजा खेलमा विरलै मात्र हुने गर्छ। इतिहासमै पहिलो पटक नेपाल र नेदरल्यान्ड्सको म्याच तेस्रो सुपर ओभरमा गएको हो ।
यो खेल नेपालका लागि एक ऐतिहासिक खेल पनि थियो । टी २० मा नेपालले यो खेल १ सय औं अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो ।
नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् ।
त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक/एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।