काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार सोमबार साँझ ७ः४५ बजे सुरु हुनेछ।
यसअघि शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्स भिडेका थिए ।
शृंखलाका लागि नेपाली टोलीमा दुई नयाँ अनुहारले स्थान बनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रूपेश सिंह र किरण ठगुन्नाले पहिलोपटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउण्डर गुल्शन झाले शृंखला गुमाएका छन् । चोटका कारण दुवैले शृंखला गुमाएका हुन् । अभ्यास खेलमा अनुभवी खेलाडी सोमपाल र झा घाइते भएका थिए ।
त्यस्तै, मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्ड्स, बिहीबार नेपाल र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सहभागी छन् ।
शृंखलाबाट नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीको दृष्टिले महत्वपूर्ण अनुभव बटुल्ने अपेक्षा गरिएको छ ।
सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रूपेश सिंह र लोकेश बम रहेका छन् ।
