काठमाडौं । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार दिउसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेको थियो ।
एयर इन्डियाको उडान नम्बर १७१ ले ‘मे डे’ कल जारी गर्दै सङ्कटको सङ्केत गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले विमान स्थानीय समयअनुसार दिउँसो १ः४० बजे दुर्घटनाग्रस्त भएको जनाएको छ ।
एएफपीले तत्काल पुष्टि गर्न नसकेको सामाजिक सञ्जालमा पोस्ट गरिएका केही भिडियोमा एउटा विमानले आफ्नो अगाडीको भाग माथि उठाएर उचाई लिँदै गर्दा एक्कासी उचाइ गुमाएको र त्यो भवनमा ठोक्किनुअघि आगोको गोलामा परिणत भएको देखिएको थियो ।
विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ । विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।
करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाड युक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो ।
अस्पताल र ‘घोडा शिविर’को बीचमा दुर्घटना भएको स्थानमा एएफपीका एक पत्रकारले शवहरू निकाल्दै गरेको र अग्निनियन्त्रकहरूले भग्नावशेष निभाउने प्रयास गरिरहेको देखेका थिए ।
कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएकाे पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्। मृतकमा चालक दलका १२ सदस्य छन् भने यात्रु २२९ जना छन्।
एयर इन्डियाका अनुसार मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन्। दुर्घटनामा विमानको सिट नम्बर ११ एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन् । अहिले उनी अस्पतालमा उपचार गराइरहेका छन् ।