काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि थुनाको अवधि लम्बिएसँगै रुपन्देहीबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवा हुन इच्छा व्यक्त गरेका छन्।
सुरुमा रुपन्देहीमै ठिक लागेको बताएपनि पछिल्लो अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि राजधानी सरुवाको चाहना जनाएका हुन्।
कारागार प्रशासनले उनको आग्रहअनुसार प्रक्रिया अघि बढाइसकेको छ।
जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए।
‘हामीले यहाँबाट जिल्ला अदालत रूपन्देहीको आदेशसहित अनुरोध गरी पठाउने हो। हामीले यहाँबाट आदेशसहित पठाइसकेका छौं,’ उनले भने। तर विभागबाट निर्णय भने भइनसकेको उनले बताए।
प्रशासन कार्यालयका एक अधिकारीका अनुसार आइतबार विभागमा पत्राचार भएको हो। रवि लामिछानेले नै आफूलाई डिल्लीबजार कारागारमा सार्न निवेदन दिएपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको स्रोतले बतायो।
सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए ।
तर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए । तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमार्डौँ सरुवा हुन चाहेका हुन् ।
परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौँकै कारागार आउन चाहेको जनाइएको छ ।