बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–५ बस्ने सल्यान कपुरकोट गाउँपालिका–५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका–६ बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका–५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन् ।

पक्राउ मध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका–५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका–४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।